नियम ११५
फैसलाको सामान्य त्रुटि र भूलसुधार
(१) सरोकारवाला पक्ष वा निजको वारिस वा कानून व्यवसायीले यस नियमावली बमोजिम फैसला वा आदेशको रीतपूर्वक नक्कल लिएपछि फैसलामा वा लेखाई वा टाइपको भूल हुन गएको देखिएमा त्यस कुराको जिकिर लिई नक्कल साथ अदालतमा निवेदन दिन सक्नेछ। त्यसरी निवेदन नपरे पनि भूल भएको ब्यहोरा अदालत स्वयम्को जानकारी आएमा सोही ब्यहोराको प्रतिवेदन पेस गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिम परेको निवेदनपत्र वा प्रतिवेदन रजिस्ट्रारले सो फैसला वा आदेश गर्ने न्यायाधीशसमक्ष पेस गर्नेछ। सो न्यायाधीशको मृत्यु भई वा अन्य कुनै कारणबाट निज अदालतमा उपस्थित नहुने वा हुन नसक्ने अवस्था परेमा सो निवेदनपत्र “गोला प्रक्रियाद्वारा गठन भएको न्यायाधीशको इजलाससमक्ष पेस गरिनेछ। सो बमोजिम फैसलामा भूलसुधार हुनुपर्ने देखेमा सो न्यायाधीशले छुट्टै पर्चा खडा गरी त्यसलाई सच्याउने आदेश गर्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम खडा गरिएको पर्चा मूल फैसला वा आदेशको अभिन्न अङ्ग मानिनेछ।

(४) उपनियम (२) बमोजिम खडा गरिएको पर्चाको ब्यहोरा मुद्दाका अन्य पक्षलाई पनि जानकारी गराउन अदालतले आवश्यक सूचना दिन सक्नेछ।

% ।